वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य प्रदीप यादवले संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलाई काठमाडौँको चार किल्ला बाहिर निस्केर मधेसका कृषकहरूले भोगिरहेको समस्या बारे बुझ्न आग्रह गरेका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रमुख सचेतक समेत रहेका सांसद यादवले काठमाडौँ र सिंहदरबार भित्रबाट मधेसका कृषकहरूको समस्या नदेखिने बताउँदै त्यस बाहिर नसिकेर मधेस भ्रमणमा जान आग्रह गरेका हुन् ।
‘म सभामुखमार्फत उर्जा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु, तपाई काठमाडौँमुखी नहुनुहोस् । काठमाडौँमा बसेर किसानका समस्या देखिँदैन,’ उनले भने, ‘तपाईँ मधेसका किसानको सिँचाईको अवस्थालाई पनि हेर्नुहोस् । सिंहदरबारको आँखा गाउँतिर र मधेसतिर पनि जाओस् ।’
पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले चुरे दोहन र जलवायु परिवर्तनको प्रभाव मधेस प्रदेशमा देखिएको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले मनसुनको बेलामा पनि वर्षा नहुँदा सिंचाई अभावका कारण किसान मारमा परेको बताए ।
यादवले मधेसका नहरमा स्काभेटर लगाएर सफाई नगरिएकोको कारण पनि कृषकहरूलाई समस्या भइरहेको उनले गुनासो गरे । कृषि प्रधान देशमा किसान नै पिडित भएपछि देश समृद्ध हुन नसक्ने बताउँदै उनले किसानका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्नेमा जोड दिए ।
कृषकले भोगिरहेको समस्या प्रति सरकार अनुदार भएको बताउँदै उनले किसानलाई बिउ, मल र आवश्यक सिंचाईको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।