वीरगंज,३०फागुन । पर्साको जगरनाथपुर गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
प्रतियोगितामा सबैभन्दा बढी स्वर्णपदक श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीले जितेको छ । त्यसपछि दोस्रो स्थानमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुर सिरा, तेस्रो स्थान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठी र चौथो स्थान श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय सोहपुर सोहरीले हासिल गरेको गाउँपालिकाले जनाएको छ ।
प्रथम भएका नेरा मावि मसिहानीले १६ स्वर्ण पदक, ५ रजत पदक र ३ कांस्य पदक जितेको छ । त्यसैगरी द्वितिय स्थान हासिल गरेका नेरा मावि जगरनाथपुर सिराले ३ स्वर्ण पदक, १३ रजत पदक र १० कांस्य पदक जितेका हुन् ।
त्यसैगरी तृतिय स्थान हासिल गरेको नेरा मावि सन्ठीले २ स्वर्ण पदक, ७ रजत पदक र १२ कांस्य पदक जितेका हुन् । गाउँपालिका अन्तर्गतका २२ वटा प्राथमिक, आधारभुत र माध्यमिक विद्यालय सहभागि रहेको प्रतियोगितामा लामो र छोटो दुरीको दौड, कबडी, हाइ जम्प, लंग जम्प, जैभलिङ थ्रो, स्वर्टपुट खेल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । प्रतियोगिताको विजेताहरुलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मेडल वितरण गर्नुको साथै पुरस्कृत समेत गरेका थिए ।
शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादवको अध्यक्षता र गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन्न समारोहमा वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, लेखापाल सन्देश कुशवाहा, बलिष्टर अहमद लगायतकाको उपस्थिती रहेको थियो ।